काठमाडौं । आगामी भदौ २१ गतेबाट रिलिज हुने फिल्म ‘रावायण’को टिजर सार्वजनिक भएको छ । राजधानीमा शुक्रबार एक कार्यक्रम गर्दै टिजर सार्वजनिक गरिएको हो ।
टिजरमा फिल्मका नायक पल शाहको एक्सनलाई प्राथमिकता दिइएको छ । टिजरमा अधिकांश दृश्यमा द्वन्द्वलाई स्थान दिइएको छ । दाह«ी र जुँगाको गेटअपमा देखिएका पलले खलपात्रसँग गरेको द्वन्द्वलाई टिजरमा प्राथमिकतामा राखिएको छ ।
फिल्ममा भिलेन चरित्रमा देखिएका प्रमोद अग्रहरि, प्रकाश शाह, प्रदीप ढकाललाई निकै सशक्त रुपमा प्रस्तुत गरिएको छ । टिजरमा नायिका पुजा शर्मा, प्रियंका कार्की, निकिता चण्डक पनि फिचर्ड छन् ।
प्रेमकथाका फिल्म निर्माणमा अब्बल मानिएका निर्देशक सुदर्शन थापा फिल्म ‘रावायण’का निर्देशक हुन् । उनले आफूले जति बोले पनि आफ्नो ‘भिजन’ फिल्मको टिजरमा देखिएको बताए । ‘अहिले टिजरमा मात्र देखिएको छ । दर्शकले पछि फिल्ममा अझ बढी हेर्न पाउनुहुनेछ’, उनले भने, ‘यो फिल्म मेरा लागि चुनौतिपूर्ण थियो । मैले यो फिल्ममार्फत आफूलाई परिवर्तन गर्ने कोशिस गरेको छु ।’
नायक पल शाहले आफ्नो रोमान्टिक छविलाई पर्दामा हेरिरहनु भएका दर्शकका लागि ‘रावायण’को चरित्र नयाँ स्वाद हुने बताए । उनले फिल्ममा आफ्नो दोहोरो भूमिका रहेको खुलाए ।
‘मेरो लागि यो चरित्र नयाँ हो । फिल्ममा मैले कान्छा र रागव नामका दुई चरित्र निर्वाह गरेको छु । एउटा चरित्र पोजेटिभ र अर्को नेगेटिभ हुन्छ’, उनले भने, ‘फिल्ममा मेरा लागि नेगेटिभ पार्ट चुनौतिपूर्ण थियो । जुन ट्रेलरमा देखिएको छ ।’