नेपालगन्ज , साउनको ३२ गतेबाट रिलिजमा आउन लागेको फिल्म ‘बुलाकी’को टिमले विभिन्न संघसंस्थासँग सहयोगको अपिल गरेको छ । फिल्म सम्बद्ध विभिन्न संघसंस्थालाई ज्ञापनपत्र वुझाउँदै सहयोगको अपिल गरिएको हो । नेपाली समाजको वास्तविक एवमं मौलिक कथा उठान गरेको फिल्मको प्रदर्शनमा सहजता खोजिएको हो । यो फिल्म पुनः रिलिज हुन लागेको हो ।
निर्माण ब्यानर छत्रेश्वरी म्यानेजमेन्टको तर्फबाट निर्माता तथा कलाकार विराज विष्टले चलचित्र विकास बोर्ड, चलचित्र निर्माता संघ, चलचित्र संघ लगायतका संघ संस्थाको कार्यलयमा पुगेर सहयोगको आह्वान गरेका हुन् ।
पुनः रिलिज हुन लागेको यो फिल्मले मौलिक कथा उठान गरेको भन्दै विश्वभरी छरिएका नेपाली दर्शकहरुमाझ पुर्याउन सहयोगको अपिल गरिएको हो ।
निर्माता तथा कलाकार बिष्टले देशको परिवेश र यथार्थता बोकेको फिल्म हेर्नका लागि नजिकको फिल्म घरमा पुगेर आफ्नो टिमको प्रयासमा हातेमालो गर्न सम्पूर्ण नेपाली दर्शकलाई आह्वान समेत गरेका छन् ।
यो फिल्मले पश्चिम नेपालमा विद्यमान जारी प्रथाको कथा भन्छ । यो फिल्मले विभिन्न अवार्ड समेत प्राप्त गरिसकेको छ । लक्ष्मण सुनारको निर्देशनमा तयार भएको यो फिल्ममा सुरक्षा पन्त, नरेन खड्का, विराज बिष्ट, सरस्वती खत्री लगायतका कलाकारको अभिनय छ ।