मकवानपुरको चित्लाङमा छायांकन भइरहेको फिल्म ‘ज्वाइँ साब’मा कलाकार इशान राउत पनि जोडिएका छन् । हाँस्य सिरियल ‘जिरे खुर्सानी’मा बाल–कलाकारको रुपमा अभिनय गरेपछि इशानको चर्चा निकै चुलिए । आम दर्शकले उनलाई ‘जिरे’ उपनामले समेत चिनेका थिए ।
तर, उनी लामो समयदेखि मिडियामा देखिएका थिएनन् । अब उनी बसन्त निरौलाको निर्देशनमा तयार भइरहेको फिल्म ‘ज्वाइँ साब’मा देखिदैछन् ।
रोचक कुरा त के छ भने, यो फिल्मको शिर्ष भूमिकामा जीतु नेपालले अभिनय गरिरहेका छन् । जीतुले नै निर्देशन गरेको ‘जिरे खुर्सानी’बाट इशान स्थापित भएका थिए । बाल–कलाकारको रुपमा स्थापित भएका इशान अब ठूलो भइसकेका छन् ।
उनको फिल्ममा कस्तो भूमिका रहनेछ भन्ने बिषयमा निर्माणपक्षले केही पनि खुलाएको छैन । तर, फिल्ममा उनलाई र जितु नेपाललाई एकसाथ देख्दा दर्शकको ध्यान पक्कै पनि तानिनेछ ।
२० दिन चित्लाङमा खिचेर यसको निर्माणपक्ष सौराहा र इलाम पुग्नेछ । फिल्ममा जितुको जोडीको रुपमा नीति शाहले अभिनय गरिरहेकी छिन् ।
राजकुमार पण्डितको प्रस्तुतिमा तयार भइरहेको यो फिल्मलाई तिहारमा रिलिज गर्ने तयारी निर्माणपक्षको छ ।
यो फिल्ममा वुद्दि तामाङ, हिमेश पन्त, रमेश वुढाथोकी, प्रकाश घिमिरे, निमा पाण्डे लगायतका कलाकारको पनि अभिनय छ । फिल्ममा मिनादेवी पाण्डे, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहनेछ ।
बिजय बस्याल कार्यकारी निर्माता रहेको फिल्ममा सविन अधिकारीको कथा, शंकर धितालको पटकथा तथा संवाद छ ।