नेपालगन्ज, बुद्ध जयन्तीको अवसर पारेर यहि जेठ १० गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘फर्की फर्की’ले बिहीबार र शुक्रबारझैं शनिबार पनि काठमाडौ उपत्यकासहित देशभरका हलमा आक्रामक व्यापार गरेको छ ।
काठमाडौं उपत्यकाका एफक्युब सिनेमाज, अष्टनारायण हल, बिग मुभिज, वान सिनेमाजसहित क्युएफएक्स चेन अन्तर्गतका देशभरका हल हाउसफूल छन् । निर्माता रोहित अधिकारीका अनुसार उपत्यका बाहिरका प्रमुख सहरहरुमा पनि चलचित्रको बाक्लो उपस्थिति छ ।
मोफसल नेपालगन्जमा पनि चलचित्रले आज राम्रो व्यापार गरेको छ । चलचित्रले आज बिहानी शो देखिनै दर्शकको उल्लेखनीय साथ पाएको छ । नेपालगन्जको सिनेरोयल र क्युएफएक्समा चलचित्र फर्की फर्की हेर्ने दर्शकको राम्रो उपस्थिति रहेको देखिन्छ।
दर्शकमाझ चलचित्र प्रदर्शनमा आएपछि चलचित्रका प्रमुख कलाकार अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, निर्देशक सुयोग गुरुङ, वितरक गोविन्द शाही बिहानदेखि नै दर्शक प्रतिक्रिया बुझ्न हल–हल पुगेका छन् । तर यो क्रम भने उपत्यकाका हलहरुमा मात्रै सिमित छ ।
रोहित अधिकारीको निर्माण र सुयोग गुरुङको लेखन तथा निर्देशन रहेको चलचित्र ‘फर्की फर्की’मा अनमोल केसी, जसिता गुरुङ, निर्मल शर्मा, लोकेन्द्र लेखक, सलोन बस्नेत, रवि काफ्ले र समृद्धि अर्याललगायतको अभिनय रहेको छ।