काठमाडौं । आगामी जेठ १० गतेबाट प्रदर्शनमा आउन लागेको बहुप्रतिक्षित फिल्म ‘फर्की फर्की’ ले पहिलो चरणमै रेकर्ड ब्रेक गरेको छ । प्री–टिजर रिलिजबाट नै चर्चामा रहेको ‘फर्की फर्की’ को ट्रेलर रिलिज भएको २४ घण्टा नपुग्दै मिलियन भ्युज पाएको छ । सम्भवतः यो नेपाली चलचित्र क्षेत्रमा यो नयाँ रेकर्ड हुन सक्छ । यो रेकर्डले दर्शकका लागि अनमोलको फिल्म कति प्रतिक्षित छ भन्ने कुराको पुष्टि गरेको छ ।
मेगा स्टार अनमोल केसी अभिनीत ‘फर्की फर्की’ मा अनमोलको अपोजिटमा ‘लिली बिली’, ‘लभ स्टेसन’ जस्ता हिट फिल्मकी नायिका जसिता गुरुङ छिन् । करिब दुई बर्षको अन्तरालमा पुनः पर्दामा देखिएका अनमोल दर्शकहरुको प्रतिक्षित नायक हुन । अनमोलले सिमित फिल्ममा काम गरिरहेका छन । ‘फर्की फर्की’ पनि उनको एक प्रतिक्षित प्रोजेक्ट हो ।
औपचारिक फिल्म निर्माण घोषणा अघि नै टिजरमार्फत दर्शकको ध्यान खिचेको ‘फर्की फर्की’ को बिहीवार ट्रेलर रिलिज भएपछि दर्शकहरुको प्रतिक्षित फिल्म बनेको छ । ‘लभर व्वाइ’ अनमोल हरेक नेपाली युवाहरुको ढुकढुकी बनेका छन् । अभिनयमा कमजोरी भएको आरोप खेप्दै आएका अनमोलले यो फिल्ममा गज्जबको काम गरेको भान हुन्छ ।
टिपिकल लभ स्टोरी फिल्मको ‘फर्की फर्की’मा आकर्षण, रोमान्स अनि बियोगलाई निर्देशक तथा लेखक सुयोग गुरुङले गज्जबले प्रस्तुत गरेका छन् । ट्रेलरमा हेर्दा अनमोलले आफुलाई भगवान ठानेका छन् । ‘गाजलु’, ‘छ माया छपक्कै’ जस्ता सुपरहिट फिल्म निर्माण गरेका निर्माता रोहित अधिकारीले ‘फर्की फर्की’ निर्माण गरेका हुन् । उनले आफूहरुले गरेको मेहनतलाई दर्शकले स्वीकार्ने बताए ।
ओएसआर डिजिटलसँगको सहकार्यमा रोहित अधिकारी फिल्मको प्रस्तुति रहेको फिल्ममा सुयोगकै कथा एवं पटकथा छ । ओमप्रकाश अग्रवाल निर्माता रहेको फिल्ममा मनोज वली र रामु न्यौपाने सह–निर्माता, अरूण रिजाल एसोसियट निर्माता तथा मोती कार्की र अनिरूद्र गिरी कार्यकारी निर्माता छन् । नरेन्द्र मैनालीको डिओपी रहेको फिल्मको सम्पादक सुरेन्द्र पौडेल हुन्।