नेपालगन्ज, ‘जनयुद्ध दिवस’को अवसर पारेर निर्माता तथा निर्देशक नवल खड्का निर्देशित चलचित्र ‘काँडेतार’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौंमा आज मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै एक्सन-प्रधान ट्रेलर सार्वजनिक गरिएको हो ।
सार्वजनिक ट्रेलरमा नेपालको सीमा मिचेर भारतले मुलुकको राष्ट्रिय स्वाधिनतामा हस्तक्षेप गरेको कथावस्तुलाई चलचित्रको ट्रेलरमा देखाइेएको छ। यसअघि आवाज, दशगजा र भीमदत्तजस्ता देशभक्ति कथावस्तुमा चलचित्र निर्माण गरेका खड्काको यो चलचित्रमा गौरव पहारी, सुरविना कार्की, रेविका गुरुङ, प्रशान्त यादव, मुरलीधर, प्रेम सुब्बाको पनि अभिनय छ ।
फागुन २५ गते देखी देशब्यापी प्रदर्शनको तयारीमा रहेको चलचित्रले नेपालका केही स्थानहरुमा च्यारिटी शो समेत गरिसकेको छ। ट्रेलर रिलिज कार्यक्रममा बोल्दै देशभरबाट प्राप्त उत्साहजनक प्रतिक्रियापछि हामीले चलचित्रलाई हलमा ल्याउँदैछौं। खड्काले भने,‘अहिलेको सन्दर्भमा यो चलचित्रको सन्देश र महत्व झन् बढेर गएको छ’।
अंग्रेजी टाइटल ‘बार्ब्ड वायर’ राखिएको यो चलचित्रलाई सामना फिल्म्स प्रालिको ब्यानरमा मकिको राई, अञ्जु केसी, नादिया खड्का र सानिया खड्काले निर्माण गरेका हुन् । सत्यकला राई चलचित्रको कार्यकारी निर्मात्रीको रुपमा रहेकी छिन् ।