Close sidebar

अभिनेत्री सुरक्षा पन्त नवौं धारा नेपालगन्ज म्याराथनमा सहभागी हुने

मंसिर १, २०८०

नेपालगन्ज , विश्व प्रतिष्ठित फ्रान्सको कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिंड्ने अवसर पाउने पहिलो नेपाली कलाकारको परिचय बनाएकी अभिनेत्री सुरक्षा पन्त नेपालगन्ज आउने भएकी छन् । यही २०८० मंसिर ९ गते शनिबार आयोजना हुने नवौं धारा नेपालगन्ज म्याराथनमा ऐक्यबद्धता जनाउन अभिनेत्री पन्त नेपालगन्ज आउने निश्चित भएको आयोजकले जनाएको छ ।

यसक्रममा म्याराथनको अघिल्लो दिन मंसिर ८ गते हुने नेपालगन्ज कनक्लेभमा पनि उनले सक्रिय सहभागिता जनाउनेछिन् । उनले ‘के पढ्ने के लेख्ने’ शीर्षकमा प्यानलिस्टका रुपमा सहभागी हुनेछिन् । अभिनेत्री पन्तलाई बौद्धिक अभिनेत्रीका रुपमा चिनिन्छ । चलचित्र उद्योगमा प्रवेश गर्नु अघि उनी सिभिल ईन्जिनियरको जिम्मेवारीमा थिइन् । उनले सिभिल इन्जिनियरिङमा स्नातक तथा एकिकृत पानी स्रोत व्यवस्थापनमा स्नात्तकोत्तर गरेकी छिन् ।

२०१५ मा आलोक नेम्वाङको चलचित्र ‘अझै पनि’बाट डेब्यु गरेकी पन्तले धनपति, गोपी, आमा लगायत चलचित्रमा अब्बल अभिनय पस्किसकेकी छिन् । इटालियन फिल्म आठ माउन्टेनबाट उनले अन्तर्राष्टिय फिल्ममा डेब्यु गरेकी थिइन् । उक्त फिल्मले कान्समा जुरी अवार्ड प्राप्त गरेको थियो । यही फिल्मबाट पन्तको पनि चर्चा चुलिएको हो ।

उनले चलचित्र ‘आमा’का लागि राष्ट्रिय पुरस्कार जित्न सफल भइन् । उनी कविता लेखनमा रुची राख्छिन् ।उनले चलचित्रमा आउनुअघि विभिन्न टेलिभिजनमा भिडियो जक्की भइ मिडियाकर्मीको परिचय पनि स्थापित गरेकी थिइन् ।

नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदैआएको छ । सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदैआएको छ ।

क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नवौं धारा नेपालगन्ज म्याराथनका लागि २०८० भदौ १ गतेदेखि नै खेलाडी दर्ता खुला गरी जारी राखिएको छ ।

नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । जापानको ओशाकामा भएको २३ औं सभामा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिएका थिए । यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार हुने अपेक्षा छ । एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।

यसबर्ष अघिल्लो वर्षमा चार विधा थप गरि बिभिन्न १४ वटा विधामा स्पर्धा समावेश गरिएको छ । स्कुलस्तरीयमा बाह्य जिल्ला र स्कुलस्तरीय दौडमा पनि कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग–अलग स्पर्धा गराइनेछ ।

प्रतियोगितामा पुरुषतर्फ म्याराथन (४२.१९५ किमी), महिलातर्फ हाफ म्याराथन (२१ किमी), १० किमी पुरुष÷महिला खुल्ला, ५ किमी स्कुलस्तरीय छात्र एवं छात्रा, किड्स रन (८देखि १२ बर्ष उमेर समुह), ५ किमी कर्पोरेट रन, ५ किमी ट्राइसाइकल र ५ किमी वाकाथन समावेश गरिएको छ । स्कुलस्तरीय दौडलाई बाँके जिल्ला तथा बाह्य जिल्ला गरी अलग अलग स्पर्धा गराइ पुरस्कृत गरिनेछ ।

त्यसैगरी, बाँके जिल्लाका हकमा कक्षा ६ देखि ८ तथा ९ देखि १२ सम्मको अलग अलग दौड (५किमी) सञ्चालन गरिनेछ ।

नेपालगन्ज म्याराथनको स्टार्ट÷फिनिसिङ गेट उपमहानगरपालिका कार्यालय अगाडि रहनेछ । त्यहाँबाट सुरु भइ कोहलपुर नगरपालिकादेखि चार किलोमिटर उत्तर बानियाभार पुगेर सोही रुट भइ सुरुवाती बिन्दुमा पुगेपछि म्याराथन कोर्स पुरा हुन्छ ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया