नेपालगन्ज , मिस नेपाल वल्र्ड २०२३ श्रृच्छा प्रधान नवौं धारा नेपालगन्ज म्याराथनमा ऐक्यबद्धता जनाउन आउने भएकी छन् । मिस नेपाल प्रधान नेपालगन्ज आउने निश्चित भएको आयोजकले जनाएको छ । कार्यक्रमका लागि उनी पहिलोपटक नेपालगन्ज आउँदैछिन् ।
मिस नेपाल प्रधानले अघिल्लो दिन हुने नेपालगन्ज कनक्लेभमा समेत सक्रिय सहभागिता जनाउनेछन् । उनले विभिन्न ६ वटा सत्र रहेको कनक्लेभमा ‘आकाश धर्ती बराबरी’ सत्रमा प्यानलिस्टका रुपमा महिला सशक्तीकरणका बारेमा आफ्ना अनुभव शेयर गर्ने बताइएको छ । ‘पहिलोपटक पश्चिम नेपालको भ्रमण गर्ने अवसर पाउँदा निकै उत्साहित छु ।’ उनले भनेकी छिन्–‘देशमा शान्ति हो, समृद्धि बढोस्, एकताको सुत्रमा बाँधियोस् ।’ म्याराथनमा फरक अनुभुति रहने उनको भनाइ छ । नेपालगन्ज म्याराथनको आयोजक क्रियटिभ ह्याण्ड्ससँग मिस नेपाल आयोजक द हिडेन ट्रेजरले लामो समयदेखि सहकार्य गर्दै आएको छ ।
नेपाल सरकार र तत्कालीन विद्रोही नेकपा माओवादीबीच दशक लामो सशस्त्र द्वन्द्व विधिवत अन्त्य गर्नेगरी भएको विस्तृत शान्ति सम्झौता (५ मंसिर २०६३) स्मरणमा नौ वर्षदेखि निरन्तर नेपालगन्ज म्याराथन आयोजना हुँदैआएको छ । सोही सम्झौतामार्फत मुलुकले शान्ति, विकास र समृद्धिको बाटोको यात्रा तय गरेको स्मरण गर्दै हरेक वर्ष ५ मंसिरमा नेपालगन्जको बीपी चोक र कोहलपुर चौराहामा दीप प्रज्वलन गरिँदैआएको छ ।
क्रियटिभ ह्याण्ड्सको आयोजना एवं क्रियटिभगन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टको व्यवस्थापन रहेको नेपालगन्ज म्याराथन एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेश(एम्स)बाट मान्यताप्राप्त दौड प्रतियोगिता हो । जापानको ओशाकामा भएको २३ औं सभामा नेपालगन्ज म्याराथनका संस्थापक टीएस ठकुरीले भाग लिएका थिए । यसले भविष्यमा अन्तर्राष्ट्रिय सम्बन्ध बिस्तार हुने अपेक्षा छ । एम्सबाट ४२.१९५ किमी, २१ किमी, १० किमी र ५ किमी प्रमाणीकरण भएको छ । एम्सको प्रमाणीकरण रुटमार्फत नेपालगन्ज म्याराथनले नेपालकै छैटौं पुरानो सहर नेपालगन्ज र उदीयमान सहर कोहलपुरलाई जोड्ने काम गर्दछ ।
नेपालगन्ज म्याराथनको टाइटल स्पोन्सर प्रतिष्ठित व्यवसायिक घराना केएल दुगड ग्रुपको उत्पादन धारा तेल रहेको छ । त्यसैगरी इन एसोसियसन अफ पार्टनरमा केएल दुगड ग्रुपकै ज्ञान खाद्यान्न र शिखर प्लाई तथा पावर्ड बाइ पार्टनरमा सगरमाथा सिमेन्ट र राष्ट्रिय वाणिज्य बैंक रहेका छन् । हस्पिटालिटी पार्टनरमा होटल सोल्टी वेष्टेन्ड प्रिमियर, इएसपीपार्टनर भायोनेट, इन्टरटेन्मेन्ट पार्टनरमा मेरो प्लानेट, मेडिकल पार्टनरमा वेष्टर्न हस्पिटल, अफिसियल लाइभ पार्टनर हाम्रो खेलकुद डट कम, प्रिन्ट मिडिया पार्टनर दैनिक नेपालगन्ज, सोसल मिडिया पार्टनरमा नेपालगन्ज ग्यालरी र कोहलपुर ग्यालरी, रहेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका संरक्षक छन् भने राष्ट्रिय खेलकुद परिषद, लुम्बिनी प्रदेश खेलकुद परिषद मुख्य प्रवद्र्धक रहेका छन् । त्यस्तै नेपाल पर्यटन बोर्ड समेत प्रवद्र्धक रहेको छ । जिल्लास्थित गाउँपालिकाहरु समेत प्रवद्र्धकका रुपमा रहनेछन् ।