नेपालगन्जमा, भोली शनिबार फूलपातीबाट प्रदर्शनमा आउने चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’ले अग्रीम टिकट बुकिङमा आक्रामक सुरुवात गरेको छ । मंगलबार अधिकांश मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म खुलेको अग्रीम टिकट बुकिङ बुधबार साँझसम्म धेरै शोहरु सोल्ड आउट भएका छन् ।
चलचित्रलाई मल्टीप्लेक्सहरुले उच्च शो प्रदान गरेका छन् । देशको सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्सले चलचित्रलाई आफ्नो देशभरको स्टेशनमा ६३ शो बाँडेको छ । क्यूएफएक्समा बुकिङ खुलेसँगै चलचित्रको टिकट आक्रामक रुपमा बिक्री भैरहेको छ । केही शोहरु ‘सोल्डआउट’ पनि भैसकेका छन् भने हुने क्रममा पनि छन्। चलचित्रले मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्म ३०० बढि शो पाएको छ ।
नेपालगन्जको हकमा चलचित्रले क्यूएफएक्स तर्फ भोली ४ शो र सिने रोयल तर्फ ५ शो गरी ९ शो मा प्रदर्शन हुने भएको छ। अग्रीम टिकट बुकिङ दुबै हलमा भैरहेको हलका म्यानेजर क्रमश: सन्जिव शाक्य र सि.इ.ओ रितेश श्रेष्ठले बताउनु भयो। चलचित्रको ब्यापारलाई लिएर हामी पनि उत्साहित छौ । शोको माग अनुसार हामी शोजहरु थप्दै जानेछौ। चित्रभित्र सँगको कुराकानीमा दुबैले बताए।
बहुप्रतिक्षित चलचित्रमा स्वस्तिमा खड्काका अलवा विपिन कार्की, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकास घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहालको पनि अभिनय रहेको छ । चलचित्रमा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् ।
टुकी आट्र्सको ब्यानरमा निर्माण भएको चलचित्रलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । चलचित्रको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन, दीर्घ खड्काको सम्पादन, कृष्ण भारद्वाजको संगीत रहेको छ ।
व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल चलचित्र ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित सिक्वेलको रुपमा निर्माण गरिएको हो । लेखक लामिछानेले चलचित्र नाम मात्रको सिक्वेल नभई अर्थपूर्ण र तर्कपूर्ण सिक्वेल बनेको बताउँछन् । चलचित्रलाई नेपालमा डिसिएन, टि फक्स र रिच इन्टरटेनमेन्ट अनि भारतमा सुष्मा प्रोडक्सन र विश्वभर सेभेज सिजले वितरण गर्दैछन् ।