यो दशैं अर्थात् फूलपातीमा दुई चलचित्र ‘परदेशी २’ र ‘पशुपति प्रसाद २ : भष्मे डन’ भिन्न भिन्न मितीमा प्रदर्शन हुने भएका छन् । चलचित्र निर्माण कम्पनीबिच फरक फरक मितीमा प्रदर्शन गर्ने सहमती दुवै चलचित्र निर्माताले बिहीबार संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै ‘परदेशी २’ असोज २६ गते घटस्थापनाको दुई दिन अगाडी र ‘पशुपति प्रसाद २’ कात्तिक ४ गते फूलपातीबाट प्रदर्शन गर्ने सहमती भएको हो ।
‘जुधेर होइन जुटेर सफलता हात पार्न सकिन्छ भन्ने कुराको पाठ नेपाली चलचित्रका कतिपय जुधाईले हामीलाई सिकाइसकेको छ । त्यसैले पनि हामी जुधेर होइन जुटेर जाने निणर्य गर्न सफल भयौं,’ जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
दीपेन्द्र के. खनाल निर्देशित चलचित्र ‘पशुपति प्रसाद २ : भष्मे डन’मा विपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे लगायत कलाकारहरुको अभिनय छ । खगेन्द्र लामिछानेको लेखन तथा निर्माण रहेको चलचित्रमा उनी र नायिका वर्षा सिवाकोटी विशेष भूमिका प्रस्तुत भएका छन् ।
तेस्तै यता ‘परदेशी २’मा प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, दीलिप रायमाझी, प्रशान्त तामाङ्ग, नीर शाह, रमा थपलिया लगायत अन्य कलाकारहरुको अभिनय छ । प्रकाश सपुतले यही चलचित्रबाट अभिनय सुरु गरेका छन् । चलचित्रको निर्मातामा राजेश बंशल र निर्देशक रायमाझी रहेका छन् ।