नेपालगन्ज : चलचित्र ‘ज्याकी : आईएम ट्वान्टी वान’ आजबाट प्रदर्शनमा आएको छ। चलचित्रको नाममै ट्वान्टी वान राखिएको हुँदा चलचित्र बैशाख २१ आज बिहीबारबाटै प्रदर्शन गरिएको हो भन्ने अनुमान लगाउन सकिन्छ। नेपालमा दशैं, तिहार, तिज र नयाँ वर्षका निश्चित विदाबाहेक अन्य मितिमा शुक्रबार मात्र चलचित्र प्रदर्शन गर्नुपर्ने नियम रहेको छ।
चलचित्रको ट्रेलर सार्वजनिक भएपछि दर्शकमा छुट्टै खालको उत्साह रहेको हामीले देखेका थियौ। डान्स ड्रामाको कथामा तयार भएको चलचित्रमा धिरजलाई २ अवतारमा देख्न सकिन्छ । यस्तै, जसिताले भने चलचित्रमा आफ्नो सपना पुरा गर्नका लागि मिहिनेत गर्ने एक यूवतीको भूमिकामा अभिनय गरेकी छिन् ।
आइकोर फिल्म्सको ब्यानरमा निर्माण भएको यो चलचित्रमा प्रभु शमशेर जबरा र प्रज्ज्वल शमशेर जबराको लगानी छ। रेनाशा वान्तवा राई राणाको निर्देशनमा धिरज मगर, जसिता गुरुङ, अरुण क्षेत्री, प्रेम सुब्बा लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रले एउटा २१ बर्षको यूवाको डान्सर बन्ने सपनाको कथा भन्छ ।
प्रिमियरबाट पाएको प्रतिक्रियाले चलचित्र निर्माण टिम उत्साहित रहेको छ। प्रिमियरमा चलचित्रलाई धेरैले खुलेर तारिफ समेत गरेका थिए।