नेपालगन्ज : शुक्रबारबाट चलचित्र ‘महापुरुष’ दोस्रो सातामा प्रवेश गरेको छ। पहिलो साता दर्शकको अथाह साथ अनि माया पाएको चलचित्रले झन् दर्शकको मन जितिरहेको छ। यता दोस्रो सातामा प्रवेश गरेलगत्तै नेपालगन्जमा ‘महापुरुष’ हेर्न आउने दर्शकको संख्या ह्वात्तै बढेको छ। दर्शकको वर्ड अफ माउथले शनिबार नेपालगन्जको क्युएफएक्स बागेश्वरीमा ‘महापुरुष’ हाउसफुल हुन सफल भएको छ।
शनिबार बिहानको शो निकै राम्रो थियो। तर दिउँसो १२ बजेको शोमा भने दर्शकको भिड अत्याधिक थियो। शो हाउसफुल भएपछि बुढा आमाबाबु सहित चलचित्र हेर्न आएका दर्शक निरास बनेर फर्केका थिए। दिउँसोको टिकट नपाएपछि अधिकांश दर्शकले साँझको शोको लागि टिकट काट्न बाध्य बनेका थिए। दोस्रो साताको सुरुवात राम्रो गरेको ‘महापुरुष’ले अझै दर्शकको साथ पाउने अपेक्षा गरिएको छ। छोराछोरीको खुशीको लागि आफ्नो खुशी एवम् रहर दबाएर राख्ने एक एकल पुरुषको कथामा आधारित यस् चलचित्रका लेखक एवम् निर्देशक प्रदीप भट्टराई हुन् ।
षट्कोण आर्ट्स प्रा.लि.को ब्यानरमा निर्मित फिल्ममा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् भने निर्माता दिपेश खत्री छन् । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, रविन्द्र सिंह बानिया, अरुन क्षेत्री, अन्जना बराइली, राजाराम पौडेल लगायतका कलाकारहरुको अभिनय रहेको छ।