शुक्रबारदेखि रिलिजमा आएको नेपाली चलचित्र ‘२ नम्बरी’को विशेष शो हिजो काठमाडौंको विश्वज्योती हलमा आयोजना गरिएको थियो । किरण नेपालीको प्रस्तुतिमा तयार भएको चलचित्रको विशेष शोमा कलाकार सन्तोष पन्त, नायिका पूजा शर्मा, निर्देशक शोभित बस्नेत, चलचित्र निर्माता संघका अध्यक्ष नवल खड्का लगायत पुगेका थिए ।
नायिका पूजा शर्माले चलचित्रले दिएको सन्देश आफूलाई मन परेको बताइन् । उनले, चलचित्रले सामाजिक कथावस्तु बोकेको भन्दै प्रशंसा गरिन् । यस्तै, कलाकार सन्तोष पन्तले आफ्नै परिवेशको एउटा अर्गानिक चलचित्र बनेको भन्दै सबैलाई हेर्न आग्रह गरे ।
चलचित्र हेरेपछि निर्माता संघका अध्यक्ष नवल खड्काले पनि उत्कृष्ट बनेको भन्दै दर्शकको साथ पाउनेमा आफू विश्वस्त भएको प्रतिक्रिया दिए ।चलचित्रले व्यापारिक रुपमा सफलता पाएपछि यसका नायक दयाहाङ राई पनि खुशी देखिए । उनले, चलचित्रले दिन खोजेको सन्देश र देखाउन खोजेको बिषयवस्तुले दर्शकलाई वाधेको बताए ।
निर्देशक शोभित बस्नेतले यसपटक निर्देशक दीपेन्द्र लामाले दर्शकको लागि चलचित्र बनाएको बताएका थिए । चलचित्रका दुई नायिका उपासना सिंह ठकुरी, उगेन छोदेन र कलाकार वुद्दि तामाङले पनि दर्शक र समीक्षकबाट पाएको प्रतिक्रियाले उत्साहित भएको बताए ।