अभिनेत्री नीता ढुंगाना र अभिनेता तथा ज्योतिष हरिहर अधिकारीले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्व दीर्घ’मा साउथका एक चर्चित कलाकारको प्रवेश भएको छ । साउथ फिल्म ‘पुष्पा’का भिलेन सुनिल वर्मालाई निर्माण टिमले फिल्ममा भित्राएको हो । निर्देशक चन्द्र पन्तले आइतवार भारतमा उनीसँग कागजी सम्झौता गरेका हुन् । उनी साउथ फिल्ममा हाँस्य भूमिकाका लागि प्रख्यात छन् ।
‘पुष्पा’मा ‘सिनुभाई’को चरित्रमा सुनिलले जबर्जस्त अभिनय गरेका थिए । उनको गेटअप र लुक्स डरलाग्दो थियो । उनले पहिलो पटक फिल्ममा यति सशक्त भिलेनको चरित्र निर्वाह गरेका हुन् । उनी पहिलो पटक नेपालीमा फिल्ममा काम गर्न उत्साहित रहेको निर्देशक पन्तले जानकारी दिए । फिल्ममा उनी महंगो पारिश्रमिकमा अनुबन्ध भएको बताइएको छ । तर, रकम खोलिएको छैन ।
‘ह्रस्व दीर्घ’मा यसअघि नै फिल्म ‘गजनी’का भिलेन प्रदीप रावतको प्रवेश भइसकेको छ । अझै केही बलिउड र साउथका चर्चित कलाकारहरुसँग पनि सम्झौता गर्ने तयारीमा निर्माण टिम छ । यसैका लागि निर्देशक पन्त केही समयदेखि मुम्बईमा छन् । नीता ढुङ्गाना र हरिहर अधिकारीको नै मुख्य भूमिका रहने फिल्मलाई नीताको होम प्रोडक्सन कम्पनी ‘नीता फिल्मस्’ले निर्माण गर्नेछ ।
साउनबाट छायांकन सुरु हुने फिल्मको छायांकन संसारकै सबैभन्दा ठूलो स्टूडियो ‘रामोजी फिल्म सिटी’मा हुँदैछ, जहाँ विश्व चर्चित साउथ फिल्म ‘बाहुबली’ समेत खिचिएको थियो । हालै निर्माण कम्पनी र स्टूडियोबीच सम्झौता भएको हो । फिल्मको यतिबेला स्क्रिप्टलाई अन्तिम रुप दिने काम भइरहेको नीताले बताएकी छन् । फिल्मलाई बलिउडका छायांकार कबीर लालले खिच्दैछन् ।