आइतवार चलचित्र ‘कबड्डी ४’को प्रतिक्रिया बुझ्न काठमाडौंको सिभिल हलमा पुग्ने क्रममा फुर्वा तामाङ नाम गरेका एक बौद्ध भिक्षुले पिठ्यूमा छोएको भन्दै अभिनेत्री मिरुना मगरले थप्पड हानेको घटनाले उग्र रुप लिएको छ । फुर्वालाई प्रहरीको जिम्मा लगाएपछि मिरुनाको पक्षभन्दा विरोधमा बढी आवाज सुनिएको छ भने उनीविरुद्ध सडकमै नाराबाजी सुरु भएको छ ।

मंगलवार विहान चुच्चेपाटीको केएल टावर अगाडि बौद्ध भिक्षुहरुले मिरुना मगरले निर्दोषलाई फसाउन खोजेको भन्दै ‘कबड्डी ४’को पोस्टरु समेत जलाउँदै प्रदर्शन गरेका छन् । प्रदर्शनमा उत्रेकाहरूले पक्राउ परेका बौद्ध भिक्षुलाई बिना शर्त रिहा गर्नुपर्ने र नायिकाले माफी माग्नुपर्ने माग राखेका छन् । अन्यथा ‘कबड्डी ४’ बहिष्कार गर्ने उनीहरुले चेतावनी दिएका छन् ।
मिरुनाले आफूमाथि दुर्व्यवहार गरेको भन्दै फुर्वा तामाङलाई हलमै थप्पड हानेर प्रहरीको जिम्मा लगाएपछि विगत दुई दिनदेखि उनी हिसारतमा छन् । फुर्वाविरुद्ध प्रहरीले अभद्र व्यवहारमा अनुसन्धान गरिरहेको छ । तर, चौतर्फी विरोधपछि उनलाई छाड्ने तयारी गरिएको छ । आफ्नो चौतर्फी विरोद्ध हुन थालेपछि मिरुना पनि फुर्वालाई छुटाउन लचक देखिएको स्रोत बताउँछ ।