नेपालगन्ज – २०७६ सालको पुष १० गते अमेरिकामा पहिलो सन्तानको रुपमा छोरी (काया) लाई जन्म दिएकी ‘चपली हाइट’ गर्ल विनिता बराल फेरि आमा बन्न लागेकी छन् । क्रिसमसको अवसरमा आइतवार आफ्नो फेसबुकमा बेबी बम्पसहितको एक तस्विर पोस्ट गर्दै आफू दोस्रो पटक आमा बन्न लागेको जानकारी दिएकी हुन् । उनले आफ्नो गर्भमा ५ महिनाको बच्चा रहेको पनि उल्लेख गरेकी छन् । फिल्म ‘चपली हाइट’ मा बोल्ड सिन दिएपछि एकाएक चर्चामा आएकी विनिताले त्यसयता ‘फूल स्पट, सुपरहिट, उमंग’ लगायतका फिल्ममा अभिनय गरेता पनि अपेक्षाकृत सफलता हासिल गर्न सकिनन् । लगातार एकपछि अर्को फिल्म असफल हुन थालेपछि उनले केही वर्ष टोखामा तरकारी खेती समेत गरेकी थिइन् । तर, तरकारी खेती पनि उनका लागि फलदायी सावित हुन सकेन ।
फिल्म र तरकारी खेतीबाट निराश भएर अध्ययनका लागि भन्दै केही वर्ष अगाडि अमेरिका हानिएकी उनले बीचमा आफैंले लेखेको ‘जुइनो’ नामक पुस्तक बजारमा ल्याएकी थिइन् । अमेरिका बसाईकै क्रममा तिलक पौडेलको प्रेममा डुबेकी उनले २०७६ सालमा लगनगाँठो कसेकी थिइन् । अमेरिका उडेपछि उनी अभिनयमा फर्किएकी छैनन् । उनी अहिले गृहस्थी जीवन विताइरहेकी छन् ।