Close sidebar

प्रियंका कार्कीको हट अवतारमा सार्वजनिक भयो ‘प्रतिवैरम्’ को गीत ‘माहोल गरम’

अशोज १३, २०८३

रोशन दासको निर्देशनमा निर्माण भएको नेपाली चलचित्र ‘प्रतिवैरम्’ को प्रतीक्षित आइटम गीत ‘माहोल गरम’ चार भाषामा सार्वजनिक गरिएको छ। फिल्मको प्रचारलाई थप गति दिने उद्देश्यले सार्वजनिक गरिएको गीत नेपाली, हिन्दी, मैथिली र भोजपुरी भाषामा दर्शकमाझ ल्याइएको हो।

गीतको नेपाली संस्करण ओएसआर डिजिटलबाट सार्वजनिक गरिएको छ भने हिन्दी, मैथिली र भोजपुरी संस्करण आदर्श प्रोडक्सनबाट रिलिज गरिएको छ।

नेपाली संस्करणको गीतमा रोशन दासको शब्द तथा मनीष अधिकारीको संगीत रहेको छ। गायिका हृतिका श्रेष्ठको स्वरमा रहेको गीतमा प्रियंका कार्कीलाई ‘बसन्ती’को भूमिकामा प्रस्तुत गरिएको छ।

हिन्दी संस्करणको शीर्षक ‘जवानी कातिल’ राखिएको छ, जसमा शिवानी भगतको स्वर र लभ कर्णको शब्द रहेको छ। त्यसैगरी मैथिली संस्करण ‘जवानी सेहो कातिल’ र भोजपुरी संस्करण ‘गाउँवा बा घायल’ शीर्षकमा सार्वजनिक गरिएको छ। मैथिली तथा भोजपुरी संस्करणका गीतकारका रूपमा सुमन मण्डलको नाम रहेको छ भने समीक्षा चौधरीको स्वर रहेको छ।

गीतमा प्रियंका कार्कीको साथमा नवीन श्रेष्ठ, रोनी यादव, नारायण बिक, प्रदीप ढकाललाई पनि देख्न सकिन्छ। गीतले मनोरञ्जनात्मक आइटम प्रस्तुति मात्र नभई फिल्मका केही महत्वपूर्ण एक्सन दृश्यलाई समेत झल्काएको छ।

फिल्ममा सम्राट दास, बिरेन्द्र सिंह कुशवाहा,आलिशा बास्तोला,सुप्रज्ञा शर्मा,नारायण बिक,आशिष डिके रमेश बुढाथोकीलगायतका कलाकारको अभिनय रहेको छ। विशेषगरी गीतको अन्त्यतिर अभिनेता सम्राट दासलाई एक्सन अवतारमा प्रस्तुत गरिएको छ। ‘प्रतिवैरम्’ सम्राट दासको डेब्यु फिल्म हो।

गीतको छायांकन नितेश घतान र हरि ढकालले गरेका हुन् । गीतको कोरियोग्राफी सुरेन्द्र बसेलले गरेका छन्। सम्पादन कबिर ओड र पंकज महतोले गरेका छन् भने भिएएफएक्स समीर मियाँको रहेको छ। फिल्मको लाइन प्रोडक्सन पंकज महतोले सम्हालेका छन्। मुख्य सहायक निर्देश सन्तोष मल्ल र खेमराज कोइराला रहेका छन् भने सहायक निर्देशनमा सिर्जना भुजेल, अग्नि सुबेदी, धिरज राउत र कुशल पोखरेल छन्।

‘प्रतिवैरम्’को कार्यकारी निर्माता बिक्की शाह, क्रिएटिभ निर्माता राकेश शाह, सह-निर्माता अनिश पोखरेल तथा एसोसिएट प्रोड्युसर रजन देवी र रीता देवी रहेका छन्। फिल्मका निर्माता हर्ष कुमार यादव र सत्यराज चौलागाईं हुन्।

फिल्मको कथा तथा निर्देशन रोशन दासको रहेको छ भने पटकथा/संवाद तथा लेखनमा युवराज भट्टराई जोडिएका छन्।

रेज इन्टरटेन्टमेन्टको प्रस्तुति रहेको ‘प्रतिवैरम्’आदर्श प्रोडक्सन,सिम्पल एड मिडिया र श्रीयान इन्टरटेन्टमेन्ट सँगको सहकार्यमा निर्माण भएको हो। मंसिर ४ गतेबाट देशभर प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्रलाई नेसनल सिनेमा ग्रुपले वितरण गर्दैछ।

मधेशको सामाजिक परिवेश, एक्सन, सम्बन्ध, अपराध र बदलाको कथालाई केन्द्रमा राखिएको ‘प्रतिवैरम्’ नेपालीसँगै हिन्दी, मैथिली र भोजपुरी भाषामा समेत प्रदर्शन हुने निर्माण पक्षले जनाएको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया