Close sidebar

‘टनेल २६’ टोलीसँग गृहमन्त्री गुरुङको भेट

अशोज ११, २०८३

असोज २३ गते रिलिज हुने नेपाल, भुटान र भारतको संयुक्त निर्माण रहेको फिल्म ‘टनेल २६’ का भुटानी कलाकार तथा निर्माण टोलीले गृहमन्त्री सुदन गुरुङसँग भेट गरेका छन् ।

भेटका क्रममा गृहमन्त्री गुरुङले ‘टनेल २६’ टोलीलाई सफलताको शुभकामना दिएका थिए । उनले फिल्मलाई नेपाल, भुटान र भारतबीचको बलियो सांस्कृतिक तथा भौगोलिक सम्बन्धलाई प्रतिनिधित्व गर्ने महत्वपूर्ण परियोजनाका रूपमा उल्लेख गरे ।

गृहमन्त्री गुरुङले फिल्मको विषयवस्तुलाई पछिल्लो समय सुरुङभित्र मानिसहरू फसेको घटनासँग पनि जोड्दै कठिन परिस्थितिमा फसेका मानिसहरूले भोगेको संघर्ष र बाँच्नका लागि गरेको प्रयासले यस्ता कथाको महत्वलाई थप उजागर गर्ने बताए ।

उनले हिमाली क्षेत्रमा बसोबास गर्ने मानिसहरूले भोग्दै आएको पीडाका विषयमा पनि धारणा राखेका थिए । विश्वका शक्तिशाली राष्ट्रहरूको बेवास्ता, कमजोर पूर्वाधार विकास, भ्रष्टाचार तथा नैतिकता र जिम्मेवारीको अभावका कारण पहाडी तथा हिमाली क्षेत्रका नागरिकले विभिन्न समस्या भोग्नुपरेको उनको भनाइ थियो ।

नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण भएको ‘टनेल २६’ असोज २३ गते नेपाल र भुटानमा एकसाथ प्रदर्शनमा आउने तयारीमा छ ।

ग्रस आम्दानीको २५ प्रतिशत प्रधानमन्त्री बिपद कोषमा
टनेल २६ फिल्मको आम्दानीको २५ प्रतिशत प्रधानमन्त्री बिपद कोषलाई प्रदान गरिने फिल्ममा निर्माता तथा मुख्य कलाकार सांगे शेल्ट्रिमले जानकारी दिए । सांगे भुटानका हुन् र उनको फिल्ममा पुरा ५० प्रतिशत सेयर रहेको छ भने उनले आफ्नो सेयरको आधा र पुरा फिल्मको २५ प्रतिशत आम्दानी प्रधानमन्त्री बिपद कोषलाई प्रदान गरिने जानकारी दिएका हुन् । उनले फिल्मको नाफा रकम नभई ग्रस आम्दानीको २५ प्रतिशत प्रदान गरिने स्पष्ट समेत पारेका छन् । उनले भनेका छन्, नेपालमा पछिल्लो समय बिनाशकारी बाढी आउँदा भुटान पनि रोएको छ , हामीलाई पनि उत्तिकै दुखेको छ । यसअघि भुटानका राजाले पनि सहयोग गरिसक्नुभएको छ, मेरो ब्यक्तिगत र हाम्रो टनेल २६ फिल्मको तर्फबाट पनि यो सहयोग गर्न चाहन्छु ।

टनेल २६मा नेपालको तर्फबाट अभिनेता प्रदीप खड्का र चौधरी ग्रुपका निर्वाण चौधरीले निर्माणमा सहकार्य गरेका छन् । अभिनेता प्रदीप क्रिएटिम निर्माताको रुपमा रहेका छन् । ‘टनेल २६’लाई सङ्गे फिल्म्स र पिक एक्सभीले प्रस्तुत गरेका हुन्। फिल्मको निर्माणमा दोर्जी वाङ्चुक नेतृत्वको डोर्जिस प्रोडक्सन, प्रशान्त कुमार गुप्ता तथा कृष्ण गुप्ताको नेतृत्वको रेल्टिक पिक्चर्स, भुटान सरकार अन्तर्गतको निकाय तथा निर्देशक डीडी किन्लेको रोलिङ इमेज पिक्चर्सको सहकार्य रहेको छ। फिल्मका कार्यकारी निर्माता दोर्जी वाङ्चुक हुन् ।
फिल्ममा सङ्गे छेल्ट्रिमसँगै नेपालबाट अनुपविक्रम शाही र आना शर्माले मुख्य भूमिका निभाएका छन् । यस्तै निदुप दोर्जी, डेकी लामो, फुन्टशोक धोन्डेन र रोशनी दादालगायतका कलाकारको अभिनय रहेको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया