निखिल उप्रेतीको निर्माण तथा अभिनय रहेको चलचित्र ‘आचार्य’को रोमान्टिक गीत ‘लै बरी लै’ सार्वजनिक भएको छ। चलचित्रको टिजर र फर्स्टलुक पोस्टर सार्वजनिक भएपछि चर्चामा रहेको ‘आचार्य’को गीत सार्वजनिक भएसँगै चलचित्रप्रती दर्शकको चासो अझै बढेको छ।
सार्वजनिक ‘लै बरी लै’ बोलको गीतमा निखिल उप्रेतीसँगै सजिना श्रेष्ठ फिचर्ड छन्। एक्सन अवतारमा बढी देखिँदै आएका निखिललाई यस गीतमा भने रोमान्टिक मूडमा प्रस्तुत गरिएको छ।
निखिलले यसअघि पनि आफ्ना चलचित्रमा एक्सनसँगै रोमान्टिक नम्बरमा आफूलाई प्रस्तुत गर्दै आएका छन्। यसपटक पनि उनी एक्सनसँगै रोमान्टिक अवतारमा देखिएका छन्। गीतमा निखिल र सजिनाबीचको केमेस्ट्रीलाई आकर्षक ढंगले प्रस्तुत गरिएको छ।
चलचित्र ‘आचार्य’मा निखिल उप्रेतीसँगै दक्षिण भारतीय कलाकार रघु बाबू र रघु करुमन्ची, बलिउड कलाकार दीपजङ्ग राणा र रोहित चौधरी, पूर्णिका सिजापतीलगायत कलाकारको अभिनय रहेको छ। पूर्णिका यही चलचित्र मार्फत नेपाली चलचित्र क्षेत्रमा नायिकाका रूपमा डेब्यु गर्दैछिन्।
चलचित्रको छायांकन सौरभ लामा, मनु विक र नवराज थापाले गरेका हुन् भने एक्सन निर्देशन शुक्रराज शाहको छ। बन्दे प्रसादले सम्पादन गरेका चलचित्रमा लेखन, निर्माण तथा निर्देशन निखिल उप्रेतीकै रहेको छ।
एक्सन, रोमान्स र मनोरञ्जनलाई समेटेर निर्माण गरिएको ‘आचार्य’ले सुरुवाती दिनमै बक्स अफिसमा राम्रो व्यापार गर्ने अपेक्षा गरिएको छ। चलचित्र यहि आउदो असोज ९ गतेदेखि प्रदर्शनमा आउँदैछ।





