Close sidebar

नेपालगन्जको मायाले भावुक बनिन् ‘पार्वती’की नीता, दर्शकको साथले झन् बलियो बन्यो दिदी–भाइको कथा

भदौ १६, २०८३

नेपालगन्ज – अटिजम भएकी एक महिलाको जीवन, उनको संघर्ष र दिदी–भाइबीचको निस्वार्थ प्रेमलाई केन्द्रमा राखेर निर्माण गरिएको चलचित्र ‘पार्वती’ ले दर्शकको मन जितिरहेको छ। चलचित्रले केवल मनोरञ्जन मात्र दिएको छैन, दिदी–भाइबीचको आत्मीय सम्बन्ध, संघर्ष र भावनालाई पर्दामार्फत दर्शकमाझ गहिरो रूपमा प्रस्तुत गरेको छ।

चलचित्रमा अभिनेत्री नीता ढुंगानाले अटिजम भएकी महिलाको संवेदनशील भूमिका निर्वाह गरेकी छन् भने  कलाकार अशोक दर्जीले उनको भाइको भूमिका निभाएका छन्। दिदीको अवस्था र उनको जीवनमा आइपर्ने चुनौतीसँगै भाइले देखाउने प्रेम, साथ र संघर्ष चलचित्रको मुख्य भावनात्मक पक्ष बनेको छ।

चलचित्रले पछिल्लो समय दर्शकबाट राम्रो साथ पाइरहेको छ। यही क्रममा ‘पार्वती’को टिम आज नेपालगन्ज आइपुगेको थियो। नेपालगन्जको सिनेरोयलक्युएफएक्स सिनेमाज बागेश्वरीमा दर्शक भेटघाट गर्दै चलचित्रको टिमले दर्शकसँग प्रत्यक्ष प्रतिक्रिया लिएको थियो।

चलचित्र हेरेर निस्किएका दर्शकको माया, उत्साह र सकारात्मक प्रतिक्रियाले ‘पार्वती’को टिमलाई थप उत्साहित बनाएको छ। तर, नेपालगन्जका दर्शकले दिएको मायाले भने अभिनेत्री नीता ढुंगानालाई भावुक नै बनायो।

दर्शकसँगको भेटघाटका क्रममा नीताले नेपालगन्जबाट आफूहरूले अपेक्षा गरेभन्दा धेरै माया र साथ पाएको बताइन्।

“नेपालगन्जबाट हामीले नसोचेको माया पायौँ। दर्शकले दिनुभएको यो साथ र मायाले हामी निकै खुशी छौँ,” नीताले भावुक हुँदै भनिन्।

दर्शकको आँखामा देखिएको प्रेम, अनुहारमा देखिएको खुशी र चलचित्रप्रतिको सकारात्मक प्रतिक्रियाले ‘पार्वती’को टिमलाई नेपालगन्जको यो यात्रा विशेष बनेको छ। पर्दामा दिदी–भाइको सम्बन्धको कथा बोकेर आएको चलचित्रले नेपालगन्जमा पाएको आत्मीयता स्वयं टिमका लागि पनि अविस्मरणीय बनेको छ।

‘पार्वती’ केवल एउटा चलचित्रको कथा होइन, यो माया, साथ, संघर्ष र सम्बन्धको कथा हो—र नेपालगन्जका दर्शकले दिएको मायाले यो कथालाई अझ अर्थपूर्ण बनाइदिएको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया