उनी यस प्रतियोगिताकी राष्ट्रिय निर्देशक हुन्। मेनुकाले अभिनयसँगै फेस अफ नेपालमार्फत नयाँ प्रतिभाको खोजी र उनीहरूको क्षमता विकासमा पनि सक्रिय भूमिका निर्वाह गरिरहेकी छन्।
एमएस प्रोडक्सन प्रालिले आयोजना गर्ने फेस अफ नेपाल-२०२६ को तेस्रो संस्करणका लागि आवेदन खुला गरिएको छ। आयोजकले बिहीबार काठमाडौँमा कार्यक्रम गर्दै प्रतियोगिताको लागि आवेदन खुला गरेको जानकारी दिएको हो।
प्रतियोगितामा नेपालभरका १७ देखि ३० वर्ष उमेर समूहका पुरुष तथा महिला सहभागी हुन सक्नेछन्। इच्छुक सहभागीहरूले फेस अफ नेपाल (Face of Nepal) को आधिकारिक सामाजिक सञ्जाल पेज तथा प्रतियोगिताको आधिकारिक भोटिङ पार्टनर एभेन्टोज (Aventoz) मार्फत आवेदन दिन सक्नेछन्।
आवेदनका लागि एक हजार रुपैयाँ दर्ता शुल्क लाग्नेछ भने छनोट भएका प्रतियोगीले १५ हजार रुपैयाँ सहभागिता शुल्क तिर्नुपर्नेछ।
आयोजकका अनुसार प्रतियोगिता विभिन्न चरणमा सञ्चालन हुनेछ, जहाँ आत्मविश्वास, व्यक्तित्व, प्रतिभा, सिर्जनशीलता तथा मोडलिङ क्षमताको मूल्यांकन गरिनेछ। त्यस्तै, सहभागीहरूले फिटनेस तथा व्यक्तित्व विकास, ग्रुमिङ, व्यावसायिक स्टाइलिङ, मोडलिङ तथा स्टेज प्रस्तुति प्रशिक्षणलगायत विभिन्न व्यावसायिक तालिम प्राप्त गर्नेछन्।
पहिलो चरणको अडिसन ११ जुलाई अर्थात् यही असार २७ गते हुने तय भएको छ। त्यसपछि प्रशिक्षण, विभिन्न प्रतिस्पर्धात्मक चरण तथा अन्य कार्यक्रमका विवरण आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ।
यस प्रतियोगिताका विजेताले दक्षिण कोरियामा आयोजना हुने प्रतिष्ठित एसिया मोडल फेस्टिभलमा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मोडलिङ तथा फेसन उद्योगमा व्यावसायिक रूपमा अघि बढ्ने अवसरसमेत पाउनेछन्।
प्रतियोगिताकी राष्ट्रिय निर्देशक मेनुकाले फेस अफ नेपाल नेपाली युवालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मोडलिङ क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्त्वपूर्ण अवसर भएको बताइन्। उनका अनुसार यस प्रतियोगिताले आत्मविश्वास, व्यक्तित्व र प्रतिभालाई प्राथमिकता दिने भएकाले यसमा सहभागी हुन कुनै उचाइको मापदण्ड नराखिएको जानकारी दिइन्।
उनले कार्यक्रममा नयाँ पुस्ताका प्रतिभालाई विश्व मञ्चसम्म पुर्याउने उद्देश्यले प्रतियोगिता सञ्चालन गर्दै आएको बताइन्। साथै मोडलिङमा भविष्य बनाउन चाहने युवायुवतीलाई निर्धक्क भएर आवेदन दिन आग्रहसमेत गरिन्।
यस वर्षको ग्रान्ड फिनाले ३० अगस्ट २०२६ (भदौ १४) मा काठमाडौंस्थित रोयल टुलिपमा आयोजना हुनेछ। कार्यक्रममा फेसन तथा मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
फेस अफ नेपाल–२०२६ अन्तर्राष्ट्रिय प्रतिष्ठित एसिया मोडल फेस्टिभल, दक्षिण कोरियाको नेपालको आधिकारिक फ्रेन्चाइजका रूपमा सञ्चालन हुँदै आएको प्रतियोगिता हो। यस वर्ष पनि यसले देशभरबाट प्रतिभाशाली पुरुष तथा महिला मोडलको खोजी गर्दै उनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने लक्ष्य लिएको छ।



