Close sidebar

चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’मा रियान गिरीको इन्ट्री

असार १५, २०८३

बलिराम चौहानको निर्देशनमा निर्माण हुने चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’मा एक मुख्य कलाकार अनुबन्ध भएका छन् । चलचित्रको निर्माण टिमले सोमबार असार १५ राष्ट्रिय धान दिवस तथा दही-चिउरा खाने दिनको अवसरमा ‘ल्याङ्ग ल्याङ्ग’मा रियान गिरी अनुबन्ध भएको जानकारी दिएको हो ।

रियान चलचित्र ‘होस्टेल–३’बाट नेपाली सिनेमा उद्योगमा प्रवेश गरेका कलाकार हुन् । रियान गायक पनि हुन् । उनले थुप्रै गीतमा स्वर भरेका छन् ।
“रियानलाई हामीले हाम्रो सिनेमामा अनुबन्ध गरेका छौँ । उनी मुख्य भूमिकामा हुनेछन्,” निर्देशक चौहानले भने, “हाम्रो कथामा हुने फिट हुने देखेरै हामीले अनुबन्ध गराएका हौँ ।”

गतवर्ष प्रदर्शन भएको ‘द ब्ल्यू लाइट’बाट डेब्यु निर्देशन गरेका चौहानले अब चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्देशन गर्न लागेका हुन । निर्देशक चौहानले केही समय अगाडि थिम पोस्टरसहित टाइटल अनाउन्स गर्दै चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’ निर्माणको घोषणा गरेका थिए । अब उनी कास्टिङमा जुटेका छन् । “अन्य कलाकार र प्राविधिक हामी फाइनल गर्दै जानेछौँ । केहीसँग कुरा भइरहेको छ,” उनले भने ।

स्काइफल पिक्चर्सको प्रस्तुति रहने चलचित्र ‘ल्याङ्ग ल्याङ्ग’को स्लोगन ‘हरेक युवाको कथा’ छ । यसले युवा पुस्ताको कथा भन्ने प्रस्ट पार्छ । ‘ल्याङ्ग ल्याङ्ग’ सामान्यतया युवा पुस्ताले आफ्नो साथी सर्कलमा प्रयोग गर्ने शब्द हो । यसको अर्थ ‘किचकिच’ अथवा एउटै कुरामा पटकपटक कर गर्ने वा दोहोर्‍याएर दिने तनाव हो ।

‘पालना गर्ने वाचा र बाँच्ने उद्देश्य : यो जीवनको लागि यति मात्र हो’ भन्ने वाक्यसहित निर्देशक चौहानले थिम पोस्टर सार्वजनिक गरेका थिए । थिम पोस्टरले अचानक प्रेममा धोका पाएको प्रेमीको कथा ‘ल्याङ्ग ल्याङ्ग’ले भन्ने संकेत गरेको छ । ‘ल्याङ्ग ल्याङ्ग’को कथा बलिराम चौहान र उपश्री खतिवडाले लेखेका छन् ।

बलिराम चौहानको गत वर्षको ‘द ब्ल्यू लाइट’ले राम्रो समीक्षा पाएको थियो । तर निर्वाचनको माहोलका कारण यो चलचित्र हल रिलिजको तेस्रो दिन नै निर्माण टिमले हलबाट निकालेको थियो ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया