Close sidebar

सुजन चापागाईँको नयाँ म्युजिक भिडियो ‘गाजले सुनचरी’ सार्वजनिक, चितवनको सौन्दर्य र यात्राको मिठो कथा

जेष्ठ १२, २०८३

नेपाली सुगम संगीत क्षेत्रमा आफ्नो बेग्लै र मौलिक शैलीका कारण स्थापित गायक तथा संगीतकार सुजन चापागाईँको नयाँ म्युजिक भिडियो ‘गाजले सुनचरी’ सार्वजनिक भएको छ। नेपाली कला र संगीतलाई प्रवर्द्धन गर्दै आएको प्रतिष्ठित निर्माण कम्पनी आर्टमान्डु र सुजनको आधिकारिक युट्युब च्यानलको सहकार्य मार्फत् यो गीत बजारमा ल्याइएको हो। विशेष गरी यात्रा गर्न रुचाउने र नयाँ ठाउँ घुमेर जीवनलाई उन्मुक्त रूपमा जिउन चाहने ‘घुमन्ते आत्मा’हरू प्रति समर्पित गर्दै यो यात्रा गीत तयार पारिएको छ।

गायक सुजन चापागाईँले यस गीत मार्फत आफ्नो जन्मभूमि चितवनप्रति विशेष प्रेम र कृतज्ञता प्रकट गरेका छन्। आफूले पहिलो पटक सास फेरेको, पहिलो पाइला सारेको र संगीतको पहिलो धुन सुनेको चितवनको माटो र बाल्यकालको नोस्टाल्जियालाई उनले गीतको माध्यमबाट स्रोतामाझ पस्किएका हुन्। गीतमा नेपाली संगीत उद्योगका प्रख्यात गीतकार हर्क साउदको मन छुने शब्द रचना रहेको छ भने संगीत र स्वर स्वयम् सुजन चापागाईँको रहेको छ। गीतको बिचमा समावेश गरिएको एउटा सुन्दर कविताको अंशलाई पल्लवीले रचना गरेकी हुन्।

यस गीतको अडियो उत्पादनलाई निकै मिहिनेतका साथ उत्कृष्ट बनाइएको छ। कोविद बज्रले संगीत संयोजन, मिक्सिङ र मास्टरिङ गरेको यस गीतमा बिकेश बज्रले स्ट्रिङ्स अर्केष्ट्रेसन र रेकर्डिङ सम्हालेका छन्। बज्र क्रिएसन रेकर्ड्समा रेकर्ड गरिएको यस गीतमा जगन्नाथ धौगोडाको तवला, प्रिन्स नेपालीको सारङ्गी र रत्न विकको बाँसुरीको धुनले नेपालीपनको सुगन्ध थपेको छ। त्यसैगरी कोविद बज्र, बिकेश बज्र र सञ्जीव बराइलीको गितार, रोश्ना शाक्य र रोमन बुढाथोकीको भायोलिन, निषाद श्रेष्ठको सेलो तथा कृती नेपालीको ब्याक भोकलले गीतलाई झनै सुमधुर बनाएको छ।

गीतको अडियो जति सशक्त छ, यसको भिडियो पनि उस्तै मनमोहक बनेको छ। अभिषेक सुवेदीको निर्देशनमा तयार पारिएको यस म्युजिक भिडियोमा अभिनेत्री तथा प्रख्यात मोडल सम्पदा घिमिरे र समिशन जिसीले मुख्य भूमिकामा अभिनय गरेका छन्। दुई अपरिचित यात्रीहरू बीच यात्राकै क्रममा मौलाउने सम्बन्ध, सामीप्यता र चितवनको प्राकृतिक सौन्दर्यलाई भिडियोमा निकै कलात्मक रूपमा बुनिएको छ।

सबिन लिङ्दम लिम्बु (प्याटु) को उत्कृष्ट छायाङ्कन र रैवत श्रेष्ठको सम्पादन तथा कलर ग्रेडिङ रहेको यस भिडियोमा चितवनका विभिन्न रमणीय पर्यटकीय स्थलहरू र रिभर ब्याङ्क जंगल रिसोर्ट लगायतका आकर्षक लोकेसनहरू फिचर गरिएका छन्। सार्वजनिक भएसँगै यस गीतले युट्युब र सामाजिक सञ्जालमा संगीतप्रेमी तथा घुमफिरका सौखिनहरूबाट निकै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया