प्रदीपकुमार चौधरीको डेब्यू निर्देशकीय चलचित्र ‘तरङ्ग’को फर्स्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण कम्पनि देवदत क्रियशनले आइतबार चलचित्रको पोस्टर सार्वजनिक गर्दै प्रचार आरम्भ गरेको हो ।
सार्वजनिक पोस्टरमा प्रमुख कलाकारद्वय वरुण अधिकारी र रविना केसी फिचर्ड छन् । उत्सव पाण्डेले तयार गरेको पोस्टरमा कलाकारद्वय अधिकारी र केसीको मौन प्रेमभाव देखिन्छ ।
यो चलचित्रमा वरुण र रविनासँगै बारात लिम्बु, कृष्ण थापा, सारा राई, उज्जल बान्तवा राई, उदय सुब्बा, कुन्दन थारू, उत्तम गुरुङ, जोहन सञ्जोग, विशाल सेनेहाङ्ग र बाल कलाकार प्रन्शु चौधरी प्रमुख अभिनयमा छन् ।
चलचित्रको कथा निर्देशक चौधरीको नै हो । तर्कराज जोशी र जितेन्द्रकुमार चौधरी निर्माता रहेको चलचित्रमा हरिनारायण चौधरी कार्यकारी निर्माता छन् । महेश पौडेलले छायांकन गरेको ‘तरङ्ग’मा सन्देश शाहको सम्पादन, सम्राट बस्नेतको द्वन्द्व, मनोज थापा मगर, पवन गिरी र मनोज महतोको संगीत समावेश छ । पार्श्व ध्वनी सुशील डंगोल र सुदीप श्रेष्ठको छ । निर्माण व्यवस्थापन प्रमुख रिजन परियार हुन् ।
मोरङ, सुनसरी, पाल्पा, रुपन्देही, चितवन र कास्कीमा छायांकन गरिएको चलचित्रको प्रदर्शन मिति भने सार्वजनिक गरिएको छैन । यसै साता चलचित्रको आधिकारिक रिलिज मिति सार्वजनिक गरेर प्रचार प्रसारमा जुट्ने निर्देशक चौधरीले बताए ।
चलचित्रलाई निर्देशक चौधरीले सुपर नेचुरल लभस्टोरी (अलौकिक प्रेम कथा)को संगम भनेका छन् । समाजमा देखिँदै आएको भोग्दै आएको भन्दा भिन्न प्रकृतिको प्रेमकथामा चलचित्र तयार भएको निर्माण टिमको दाबी छ । चलचित्रको निर्माणमा देवदत क्रियशनसँग एवी फिल्मीले सहकार्य गरेको हो ।




