‘रमिताको पिरती’ले अहिलेको युवा युवतीको प्रेम, बिछोड र आत्ममन्थनको विषयलाई रोचक शैलीमा प्रस्तुत गरेको छ । नेपालमा दोस्रो हप्तामा प्रवेश गरेको चलचित्रले यथार्थपरक कथा वाचन र आफैँले आफूलाई माया गर्नुपर्छ भन्ने सन्देशका लागि युवा दर्शकबाट प्रेरक प्रतिक्रियाहरु प्राप्त गरिरहेको छ ।
इन्फिनिटीले चलचित्र ‘रमिताको पिरती’ले भारतीय युवा दर्शकको पनि मनोविज्ञानलाई समेटेको महसुस गर्दै भारतभर रिलिज गर्ने निर्णय गरेको जनाएको छ । दक्षिण एसियाका कथा संसारभर पुर्याउने लक्ष्यसहित कम्पनीको स्थापना भएको हुँदा संसारले रुचाउने कथालाई धेरैभन्दा धेरै दर्शकसम्म पुर्याउने लक्ष्यसहित ‘रमिताको पिरती’कोे वितरणमा जोडिएको इन्फिनिटीले जनाएको छ । यसले नेपाली चलचित्रलाई सीमा भित्र मात्र नभएर सीमाबाहिर पनि बजार विस्तारमा मद्दत पुग्ने जनाएको छ ।
सहकार्यलाई लिएर इन्फिनिटीका प्रतिनिधिले भने,‘रमिताको पिरतीले आजको युवाको प्रेम जीवनलाई दुरुस्त देखाएको छ जुन भारतका दर्शकले पनि मजाले रिलेट गर्न सक्छन् । राम्रो फिल्म धेरैभन्दा धेरै दर्शकसम्म पुग्न पनि जरुरी छ । हामी यो फिल्मलाई धेरै दर्शकसम्म पुर्याउँछौँ ।’
अहिले रिलिजका लागि भारतका हलसँग कुराकानी भइरहेकोे र चाँडै भारतका कुन कुन ठाउँमा कहिलेदेखि लाग्ने भन्ने जानकारी सार्वजनिक गर्ने कम्पनीले जनाएको छ । सुदिप्ताको निर्देशनमा बनेको ‘रमिताको पिरती’मा आना शर्माको मुख्य भूमिका रहेको छ । चलचित्रमा विनय श्रेष्ठ, धिरज मगर, समिर श्रेष्ठ, रेनु योगी आदि कलाकारको अभिनय रहेको छ ।





