नेपाली चलचित्र क्षेत्रका हटकेक अभिनेता हुन पल शाह । आज पलले आफ्नो ३१औं जन्मदिन मनाउँदैछन् । २०४६ साल फागुन १० गते दाङमा जन्मिएका पलले म्यूजिक भिडियाबाट नेपाली चलचित्रमा फड्को मारेका हुन् । निर्देशक विकासराज आचार्यले चलचित्र ‘नाईं नभन्नू ल ४’ बाट उनलाई लिड हिरोको रुपमा ब्रेक दिएका थिए । पहिलो चलचित्र नै बक्सअफिसमा हिट भएपछी पल धेरै निर्माताको नजरमा पर्न थाले ।
यताकता अभिनयको आलोचना हुने गरेको भए पनि उनले आजसम्म पछाडि फर्केर हेर्नुपरेको छैन । चलचित्र ‘म यस्तो गाीत गाउँछु’ को सफलताले करिअरको उत्कर्षमा पुगेका उनले चलचित्र ‘जोनी जेन्टलम्यान, शत्रु गते, वीर विक्रम २’ मा नायकको रुपमा काम गरिसकेका छन् भने ‘म यस्तो गाीत गाउँछु २’ प्रदर्शनको तयारीमा छ । त्यस्तै, उनको पाइपलाइनमा ‘दुई नम्बरी, सत्यम् र हुतुतु’ नमक चलचित्रहरु छन् ।
दाङबाट एसएलसी पास गरेर आर्मी बन्न काठमाडौं छिरेका पल भर्खर १८ वर्षका थिए । काठमाडौं आएपछि उनले आफू र आफ्नो परिवारको आर्मी बन्ने सपना त्यागेर अर्कै बाटो रोजे । आर्थिक संकटका कारण तराई टिभी बन्द भएपछि ११ महिनाको तलब नपाउँदा कोठा भाडा तिर्न नसकेर घरबेटीले उनको कोठामा ताला नै लगाइदिएका थिए । उनीसँग खाजा खाने पैसा समेत हुन्न थियो । उधारो खाएको पसलबाट लुकेर हिँड्थे । आज उनै पलको भाग्य बदलिएको छ। कुनै समय कोठाभाडा तिर्न पैसा नहुने उनी अब काठमाडौंमा आफ्नै कमाईले घर किन्दैछन् ।