Close sidebar

दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक

पुस ६, २०८२

गत शुक्रबार अर्थात् पौष ४ गतेबाट प्रदर्शनमा आएको सिनेमा ‘झरीपछिको इन्द्रेणी’को नयाँ गीत सार्वजनिक गरेको छ । हलमा प्रदर्शरत सिनेमाले दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेका बेला निर्माण टिमले सिनेमाप्रति अझै दर्शकको आकर्षण बढाउन आइतबार नयाँ गीत ‘जब फर्किन्छु घर’ सार्वजनिक गरेको हो ।

यो गीतमा मनोज थापा मगरको म्युजिक एरेञ्जमेन्ट र गणेश कार्कीको शब्द रचना तथा हेमन्त रानाको स्वर छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विमोचन दवाडी, गणेश उप्रेती, सरिता गिरी, जेसिका पोखरेल र बाल कलाकार दिप्सन चिलवाललाई देख्न सकिन्छ । यो गीतले सिनेमाप्रति दर्शकको आकर्षण उर्त्कषमा पुर्‍याउने विश्वास निर्माण टिमको छ ।

शुक्रबार सिनेमा रिलिज भएसँगै सिनेमाका निर्देशक अर्जुन घिमिरे ‘पाँडे’ सहित कलाकारहरु गणेश उप्रेती, दीपाश्री निरौला, प्रियाना आचार्य ‘मुन्नी’, निर्मल शर्मा, रमेश उप्रेती, विमोचन दवाडी, जेसिका पोखरेल, बाल कलाकार दिप्सन चिलवाल, लेखक गणेश कार्की काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शक प्रतिक्रिया लिइसकेका छन् । दर्शकले सिनेमा उत्कृष्ट बनेको भन्दै नेपालको हालको अवस्थालाई जस्ताको त्यस्तै चित्रण गरेका प्रतिक्रिया दर्शकले दिइरहेका छन् ।

दर्शकबाट उत्कृष्ट प्रतिक्रिया पाइरहेको सिनेमालाई हालसम्म युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह, महानगर प्रहरी प्रमुख राजु पाण्डे, जेनजी नेता सुदन गरुङ लगायतले समेत यो सिनेमा हेरिसकेका छन् । उनीहरु सवैले यो सिनेमा साँच्चिकै राम्रो बनेको भन्दै हरेक नेपालीले हेर्नै पर्ने बताएका थिए । जसले हालको नेपालको अवस्थालाई सन्देश मुलक ढंगले प्रस्तुत गरेकाले पनि हरेक दर्शकको रोजाइको सिनेमा ‘झरीपछिको इन्द्रेणी’ बन्ने बुझाई थियो ।

यो सिनेमाबाट अभिनेता गणेश उप्रेतीले ९ वर्षपछि कमब्याक गरेका छन् । उनका कारण अघिल्लो पुस्ताका दर्शकलाई सिनेमाप्रति आकर्षित गर्न सक्ने अपेक्षा गरिएको छ । सिनेमामा गणेशसहित रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, प्रियना आचार्य (मुन्नी) लगायतको अभिनय छ । सिनेमाको एक गीतमा मोडल अञ्जली अधिकारी र कोरियोग्राफर प्रदीप लामा पनि विशेष भूमिकामा देखिनेछन् ।

निर्देशक घिमिरे स्वयंको कथा रहेको यो सिनेमाबाट विमोचन दवाडी र जेसिका पोखरेलले डेब्यु गरेका छन् । जेसिका अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाकी बहिनीकी छोरी हुन् । बाल कलाकारमा दिप्सन चिलवालको पनि अभिनय रहेको छ । सिनेमाको पटकथा तथा संवाद गणेश कार्की र विशाल घिमिरेले लेखेका हुन् । अनिशा सेन्दाङ लिम्बू निर्मात्री रहेको सिनेमाका छायाँकार बुद्ध थापा हुन् ।

नागराज इन्टरटेनमेन्ट प्रालीको व्यानरमा निर्माण भएको सिनेमाले देशको राजनीतिक अस्थिरता, त्यसले जनतामा पारेको प्रभाव, र नयाँ पुस्ताको आकांक्षा र आक्रोशलाई मुख्य कथावस्तु बनाइएको छ । एक इमानदार कर्मचारी र बाबुको संघर्षको कथा पनि सिनेमाले पेश गर्नेछ ।

सिनेमामा अनु थापा, पंकज खड्का, सिर्जना खड्का, सुवास शर्मा र राम कार्की सह-निर्माता तथा लाइन प्रोड्युसरमा योगेश खतिवडा र विनोद कँडेल छन् ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया