Close sidebar

जर्सिङ पौवा र इन्द्रावतीमा ‘मालती मङ्गले’को गीत छायाङ्कन, रोमान्टिक भेटिए विजय र वर्षा

मंसिर २४, २०८२

यसै वर्षको अन्त्यतिर प्रदर्शनमा आउने नेपाली चलचित्र ‘मालती मङ्गले’ छायाङ्कनको अन्तिम चरणमा नयाँ उत्साहसहित प्रवेश गरेको छ। यसअघिको छायाङ्कनमा चलचित्रका दुई गीत बाँकी रहेकोमा पहिलो गीत ‘ढुङ्गा माथि लेउ’ को छायाङ्कन अहिले भइरहेको छ।

एसडी योगीको सङ्गीत रहेको यो गीतलाई रामकृष्ण ढकाल र रीतिका श्रेष्ठले स्वर दिएका छन् भने शब्द हर्क साउदका हुन्। गीतको एरेन्जिङ रिकेश गुरुङले गरेका छन्। गीतमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले रोमान्टिक नृत्य गरिरहेका छन्, जहाँ उनीहरू क्लासिक बलिउड लुकमा रहेका छन्। यसको कोरियोग्राफी रोशन बिकेले गरेका छन्।

छायाङ्कन निर्देशक अर्जुन तिवारीको फ्रेममा सोमवार काठमाडौंको जर्सिङ पौवामा छायाङ्कन भइरहेको छ भने मङ्गलवार इन्द्रावती नदीमा निरन्तरता दिइनेछ। निर्माण टिमका अनुसार यो गीतपछि अर्को एक गीतको छायाङ्कन बाँकी छ, जसपछि चलचित्रको सम्पूर्ण छायाङ्कन पूर्ण हुनेछ।

रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भइरहेको चलचित्रका निर्माता रामकृष्ण ढकाल हुन् भने सह–निर्मातामा बाबु सुवेदी, रविन श्रेष्ठ, वेदना कर्माचार्य श्रेष्ठ, पद्मावती गुरुङ र स्वीकृति बस्नेत छन्। निर्देशक प्रकु पाण्डेयले चलचित्र निर्देशन गरिरहेका छन्, कथा पनि उनकै लेखन हो। पटकथा तथा संवाद संयोग गुरागाईँले तयार गरेका हुन्।

चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा छन्। साथै सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायत कलाकारहरूको पनि उपस्थिति रहेको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया