Close sidebar

प्रेम कथानक चलचित्र ‘कुमारी’को छायाङ्कन सम्पन्न

मंसिर १, २०८२

दिनेश राउतको निर्देशनमा बनिरहेको प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को सम्पूर्ण छायाङ्कन सकिएको छ। गत भाद्र १७ गतेदेखि सुरु भएको छायाङ्कन प्रक्रिया शनिवार औपचारिक रूपमा पूरा भएको हो। छायाङ्कन सकिए पनि रिलिज मिति भने केही दिनमै घोषणा हुने बताइएको छ। पोस्ट-प्रोडक्सनको प्रगति मूल्याङ्कन गर्दै अन्तिम मिति तय गर्ने निर्देशक राउतले जानकारी दिए।

यसअघि छायाङ्कनको बीचमै नै चलचित्र ‘कुमारी’ चर्चामा रह्यो। घोषणा कार्यक्रममा प्रत्यक्ष प्रस्तुत गरिएको गीत ‘कता छौ मेरो फूल’ इन्टरनेटमा भाइरल बनेको थियो। हाल देशव्यापी कन्सर्टमा रहेका गायक केहर सिंहले पनि दर्शकको अत्यधिक मागसँगै सो गीत गाइरहेका छन्। गायक लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले गाएको लाइभ भर्सन अहिले टिकटक र युट्युबमा अत्यधिक लोकप्रिय छ। ‘जेन-जी’ पुस्ताका प्रयोगकर्ताले टिकटकमा सर्वाधिक प्रयोग गरिरहेको गीतको स्टुडियो भर्सन भने चलचित्र रिलिजसँगै मात्रै सार्वजनिक गरिनेछ।

यस चलचित्रबाट अबिषेक खड्का र आकृति राजभन्डारीले प्रमुख भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनीषा शर्मा र भूपी लुहार चलचित्रमा देखिनेछन्।

चलचित्रको छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका हुन्। निर्माण बिनिश इन्टरटेन्मेन्टले पिक्चर फ्रेमसँग सहकार्यमा गरेको हो भने निर्माता महेन्द्र अधिकारी हुन्। चलचित्रको स्क्रिप्ट विकास सुवेदीले लेखेका हुन्। पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट)को रहेको छ।

‘कुमारी’मा चार गीत रहेका छन्। सबै गीतमा स्वर गायक लिम्बुले नै दिएका छन्। सङ्गीतमा केहर सिंह लिम्बु, सुमन तामाङ र प्रशान्त सिवाकोटीको संयुक्त योगदान रहेको छ। शब्द लेखकमा सागर लामिछाने मगर, सुमन तामाङ र युवराज काफ्ले छन्।

निर्माण टिमका अनुसार, ‘कुमारी’ यही वर्षभित्र नै प्रदर्शन गर्ने लक्ष्य रहेको छ। छायाङ्कन सकिएको घोषणा सँगसँगै, निर्माण पक्षले अब पोस्ट–प्रोडक्सनमा पूर्ण फोकस गर्ने बताएको छ।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया