चलचित्र ‘तिम्रो मेरो साथ’को छायांकन सकिएको छ । पोखरामा शनिबार एक कार्यक्रम आयोजना गर्दै चलचित्रको छायांकन सकिएको घोषणा गरिएको हो । चलचित्रको ३३ दिनमा छायांकन सकिएको छ ।
कार्यक्रममा निर्माता, निर्देशक तथा गीतकार रमेश एम.के पौडेलले चलचित्रको छायांकन अवधिभर साथ दिने सबैलाई धन्यवाद व्यक्त गरेका थिए भने अभिनेता पुष्प खड्काले चलचित्र राम्रो बनेको बताए । पुष्पले सबै दर्शकहरुको रुचीलाई ध्यानमा राखेर चलचित्र निर्माण गरेका बताए । त्यस्तै, कलाकार सन्दिप क्षेत्रीले यो चलचित्रले आफ्नो कलाकारिताको यात्रामा नयाँ फड्को मार्ने दाबी समेत गरेका थिए ।
करिब दुई करोड लगानीमा बनेको चलचित्रलाई नेपाल भन्दा पहिले अमेरिका, अष्ट्रेलिया र बेलायत लगायतका देशहरुबाट प्रदर्शन गरिने छ भने नेपालमा दशै र तिहारको बीचको समयमा रिलिज गरिने योजना छ । बोधी एच डि र आर्यन फिल्मसको ब्यानरमा बनेको चलचित्रमा पुष्प खड्का, साम्राज्ञी राज्यलक्ष्मी शाह, सरोज खनाल, सन्दिप क्षेत्री र खगेश्वर पुन मगर (खबपू) लगायतका कलाकारहरुको अभिनय रहेको छ ।