Close sidebar

विजय र वर्षाको अभिनय रहने चलचित्र ‘मालती मंगले’को शुभ मुहूर्त

भदौ १२, २०८२

गायक रामकृष्ण ढकालले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘मालती मंगले’ ले औपचारिक रूपमा आफ्नो निर्माण यात्रा प्रारम्भ गरेको छ। बिहीबार काठमाडौंको कोटेश्वरस्थित महादेवस्थान मन्दिरमा स्क्रिप्ट तथा क्यामेरा पूजासहित शुभ मुहूर्त गरिएको चलचित्रको पहिलो क्ल्याप निर्माता ढकालका अभिभावक गोपाल कर्माचार्यले दिएका थिए। यस अवसरमा अभिनेता विजय बराल र अभिनेत्री वर्षा राउतले पहिलो दृश्य अभिनय गर्दै चलचित्रको छायाङ्कनलाई शुभारम्भ गरेका थिए।

निर्माता समेत रहेका चर्चित गायक ढकालले शुभ मुहूर्त कार्यक्रममा ‘राम्रो र स्तरीय चलचित्र निर्माण गर्ने आफ्नो प्रतिबद्धता’ व्यक्त गर्दै दर्शकलाई नेपाली समाजसँग जोडिने भावनात्मक कथा पस्किने बताएका थिए। त्यस्तै, कलाकार त्रय विजय बराल, वर्षा राउत र मेक्सम गौडेलले चलचित्र ‘मालती मंगले’ आफ्नो अभिनय यात्रामा विशेष बन्ने विश्वास व्यक्त गरेका छन्।

यस चलचित्रमा विजय, वर्षा, मेक्समसँगै सुवर्ण थापा, प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पंगेनी, सुस्मिता गुरुङ, सागर भट्टर्राईलगायत कलाकारहरूको अभिनय रहने छ। चलचित्रको निर्देशन प्रकु पाण्डेयले गर्नेछन्। कथा स्वयं पाण्डेयकै लेखन रहेको छ भने पटकथा तथा संवाद गुरागाईँले तयार गरेका हुन्। चलचित्र पारिवारिक भावनासँग जोडिएको प्रेमकथामा आधारित रहने जनाइएको छ।

कार्यकारी निर्माता सागर ज्ञवालीका अनुसार चलचित्रको मुख्य छायाङ्कन तनहुँ र स्याङ्जा जिल्लाका सुन्दर भूभागमा गरिनेछ। छायाङ्कन कार्य शनिवारदेखि सुरु हुने तयारीमा छ। रानी म्युजिक इन्टरनेशनल प्रा.लि.को ब्यानरमा युनी इन्टरटेनमेन्टको सहकार्यमा निर्माण हुने चलचित्रका निर्माता लोकप्रिय गायक रामकृष्ण ढकाल हुन् भने सह–निर्मातामा रविन श्रेष्ठ, बाबु सुवेदी, मनोज बजगाईँ र ईश्वर बजगाईँ रहेका छन्।

चलचित्रमा छायाङ्कन निर्देशक महेश पौडेल, सम्पादक रोमी तण्डुकार, रङ्ग संयोजक कृष्ण भण्डारी रहेका छन्। गीतहरू राजेन्द्र थापा, आनन्द अधिकारी, गोपाल अधिकारी र हर्क साउदले लेख्नेछन् भने सङ्गीतमा हरि लम्साल, राजनराज सिवाकोटी, एसडी योगी र उज्ज्वल सागरले काम गर्नेछन्। कस्ट्युम डिजाइन रवि पोखरेल, कला निर्देशक मनोज बोगटी, प्रोडक्सन डिजाइनर रिजन परिया तथा प्रमुख सहायक निर्देशक शिशिर पोखरेल रहेका छन्।

हाम्रो बारेमा

Chitrabhitra Entertainment Pvt Ltd
ठेगाना : नेपालगंज १२-बाँके
मोबाइल न: ९८४८२५९४८४/९८४८०२००५४

हाम्रो टिम

अध्यक्ष : रामचन्द्र पौडेल
संवाद दाता : प्रदिप जंग शाही

सोसल मिडिया